प्रकाशित मिति : २०२०-०२-०२

गोठ/खोर व्यवस्थापन

फार्ममा हाडनाता प्रजनन् नियन्त्रण गर्न र व्यवस्थापकीय सुधार गर्न व्याडका वोकाहरूलाई बँधुवा गरि पालिएको छ । व्याउने समय नजिकिएका माउ बाख्रीहरू, साना पाठापाठीहरू र विरामी भई उपचाररत बाख्राहरूलाई पनि चरनमा लाने गरिएको छैन । यी बाहेकका बाख्राहरूलाई विहान ९.०० देखि ९.३० बजेसम्ममा चरनमा पठाइन्छ र चरनबाट ४.३० देखि ५.०० बजे भित्रमा खोरमा ल्याउने गरिन्छ । फार्ममा बाख्राहरूको लागि आरामदायक खोरको सुविधा छ । विहान बाख्राहरूलाई राती राखिएको खोरबाट निकाली पालैपालो दाना खुवाएर बाहिर रहेको अर्को खोरमा राखिन्छ र राती राख्ने गरिएको खोर र खोरमुनिका बड्कौंला, पिसाव आदि समेत दैनिक रूपमा सरसफाई गरिन्छ । मलमुत्र र घाँसका अवशेषहरू मलखाल्डोमा राख्ने गरिएको छ । खोरको भित्र र वाह्य परिसरमा समय समयमा किटनाशक विषादिहरू स्प्रे गरेर निःसंक्रमण गर्ने गरिएको छ ।

दाना तथा आहारा व्यवस्थापन

नेपालमा बाख्राकै लागि भनेर दाना उत्पादन भएको पाइंदैन । गाईभैंसीको दाना बाख्रालाई पूर्णत उपयोगी हुने वा नहुने भन्ने यकिन भएको पनि पाइंदैन । त्यसैले यस फार्मले ढुटो, चोकर र समय समयमा पिसेको मकै समेत मिसाएर बाख्राहरूलाई खुवाउने गरिएको छ । बाख्राको स्वास्थ्य र शारीरिक अवस्था हेरी समय समयमा दानामा मिनरल मिक्स्चर, भिटामिन्स, हिमालयन वत्तिसा जस्ता सप्लिमेन्टहरू पनि खुवाउने गरिएको छ । फार्मको आफ्नै जमिनमा भुईंघाँस, डालेघाँसहरूको उपलब्धता हुने र सिजन अनुसारका भुई तथा वहुवर्षे घाँसहरूपनि लगाइएकोले खोरमै थुनेर राखिने वोका, बाख्राहरूलाई घाँस काटेर खोरमै उपलब्ध गराइन्छ भने बाँकी बाख्राहरू फार्मको आफ्नै चरनमा चर्ने गर्दछन् । चरनबाट चरेर खोरमा फर्कने बाख्राहरूले खोरमा आइसकेपछि पनि घाँस खान पाउने गरी टाट्नोमा घाँस भरेर राख्ने गरिएको छ । हिउँदको सुक्खा समयमा पोसिलो आहाराको अभाव हुन नदिन जै घाँस लगाउने गरिएको छ र हे बनाएर संरक्षित गरि राख्ने गरिएको छ ।

प्रजनन् व्यवस्थापन

बाख्राहरूको जातीय शुद्धता कायम राख्न प्रजनन्को अत्यन्तै महत्व हुने हुँदा हाडनाता प्रजनन् नियन्त्रणका लागि बाख्रीहरूले बोका खोजेको समय र वोका खोजे नखोजको पहिचान गर्ने र खोजेको पाइएमा प्रजनन् गराउने कार्य समेत गर्ने गरी प्राविधिकको उपस्थिती एवं नियन्त्रणमा मात्र वोका र बाख्री मिसाउने गरिन्छ । यस बाहेकको अवस्थामा बोका र बाख्री अलग अलग राख्ने गरिएको छ । अभिलेखको पर्याप्त उपलब्धताको अभावमा हाडनाता प्रजनन् नियन्त्रण गर्न र वोका बाख्रीहरूको छनौट र कलिङ गर्न कठिनाई भोग्नु परिरहेको अवस्थामा कडाइका साथ अभिलेख व्यवस्थापनलाई व्यवस्थित गरिएको छ । साननका गुणस्तरीय वर्णशंकर पाठापाठी उत्पादन गर्न बाख्रामा कृत्रिम गर्भाधानलाई पनि अघि बढाइएको तर सवारी साधन र अन्य भौतिक पूर्वाधारको अभावमा निरन्तर गर्न नसकिएको परिवेशमा आगामी आ.व. बाट व्यवस्थित हिसाबले अघि बढाउने तयारी गरिएको छ ।

स्वास्थ्य व्यवस्थापन

बाख्राहरूलाई प्रत्येक ४/४ महिना (श्रावण, मंसिर र चैत्र) मा आन्तरीक परजिवी विरुद्ध ड्रेन्चिङ गर्ने र डिपिङ गर्ने गरिएको छ । यस बाहेक संक्रमणको अवस्था हेरी आवश्यक परे बिचमा पनि गरिएको छ । पी.पी.आर. रोगविरुद्ध खोप लगाउने गरिएको छ र आगामी दिनहरूमा खोरेत लगायतका अन्य रोगहरू विरुद्धपनि खोप लगाउने कार्य अघि बढाइने छ । रोग संक्रमणबाट बचाउन बाख्राको खोरमा पस्ने प्रवेश द्वारमा चुनपानी राख्ने र प्राविधिक, कामदार र आगन्तुकहरूलाई चुनपानीमा टेकेर मात्र प्रवेश गराउने गरिएको छ । यति हुँदाहुँदै पनि बाख्राहरू विरामी हुने गर्छन् । विरामी भएको अवस्थामा प्राविधिकहरूबाट स्वास्थ्य परिक्षण र उपचारको उचित प्रबन्ध गरिएको छ । यस फार्मका बाख्राहरूमा ब्रुसेलोसिस र टी.वी. भए नभएको पहिचान गर्न प्रत्येक वर्ष वर्षको एक पटक बाख्राहरूको नमुना संकलन गरी केन्द्रिय पशुरोग अन्वेषण प्रयोगशालाबाट परिक्षण गराउने गरिएको छ ।

पाठापाठी व्यवस्थापन

यस फार्ममा पाठापाठीको मृत्यूदर बढी हुने गरेको पाइन्छ । फित्ते जुकाको संक्रमण दर बढी भएको, चिसो हावापानी र हिउँदमा अत्यधिक जाडो र तुषारो पाठापाठीहरूको मृत्यू हुने प्रमुख कारण भएको महशुस गरि पाठापाठीहरूलाई प्राजिक्विण्टल खुवाउने, खोरमा हिटर वालेर न्यानो बनाउने, पानी मनतातो बनाएर खुवाउने, खोरमा सोत्तर राखेर पाठापाठी राख्ने जस्ता व्यवस्थापकीय कार्यहरू गरिएको छ ।

चरन व्यवस्थापन

फार्मको आफ्नै चरन भएकोले फार्मका बाख्राहरूलाई चराउने स्थानको समस्या छैन । तर फार्ममा पूर्णरूपमा बारबन्देज हुन नसकेको अवस्थामा छिमेकीहरूको पशु चराउने चरन समेत भएको छ । फार्मबाट जे जति प्रयास गरिएतापनि यो छाडा चरिचरन नियन्त्रण गर्न सकिएको छैन । एकातिर एउटै मात्र चरन भएकोले अतिचरिचरन हुने र चरन अतिक्रमण समेत हुनेहुँदा फार्मलाई चरन व्यवस्थापन गर्न ज्यादै नै कठिन भईरहेको छ । चरन क्षेत्रलाई बारबन्देज गरी खण्ड खण्डमा विभाजन गरेर आलोपालो चर्ने (Rotational grazing) व्यवस्था मिलाउन अत्यन्तै जरुरी भएको छ ।

अभिलेख व्यवस्थापन

अभिलेख भनेको फार्मको मुटु हो । अभिलेख वेगर फार्मको उचित व्यवस्थापन हुनै सक्दैन । फार्ममा अभिलेख व्यवस्थापनको अवस्था हेर्दा पछिल्लो समयमा यसमा पर्याप्त ध्यान पुगेको देखिदैन । आवश्यक अभिलेखको उपलब्धता नहुँदा एकातिर फार्मका बाख्राहरूको उत्पादन अवस्था र क्षमताको जानकारी पाउन सकिएको छैन भने अर्कातिर प्रजनन् व्यवस्थापनलाई व्यवस्थित गर्न कठिनाई भईरहेको छ । यसै अवस्थालाई मध्यनजर गर्दै प्रत्येक एक बाख्राको एक अभिलेख हुनेरी बाख्राहरूको एउटा मूल अभिलेख फर्मेट तयार गरी अभिलेख राख्ने कार्यको पुनः शुरुवात गरिएको छ र यही मूल अभिलेखबाट आवश्यकता अनुसार खण्डिकृत गरी अन्य विषयहरूको समेत जानकारी प्राप्त गर्न सक्ने विश्वास गरिएको छ । यस बाहेक फार्ममा बाख्राहरूको दैनिक स्टक विवरण अभिलेख राख्ने व्यवस्था पनि गरिएको छ ।

वितरण व्यवस्थापन

हाल फार्ममा माउहरूको संख्या न्यून रहेको र नयाँ माउ खरिदको व्यवस्था नभएकोले फार्ममा उत्पादित पाठीहरू बेचविखन नगरी तिनै पाठीहरूलाई फार्ममै माउ बनाएर माउ संख्या बृद्धि गर्ने र त्यसपछिका उत्पादनहरूबाट रिप्लेसमेन्टको लागि पाठी छुट्याएर बिक्री गर्ने अभिप्रायले हाललाई पाठी विक्री स्थगन गरिएको छ । उत्पादनको अवस्था हेरी वोका वितरण यथावत रहको छ । वोका वितरणमा पनि फार्मको वाह््य स्रोत विकास कार्यक्रमका समूहहरू वाहेक अन्य व्यवसायिक बाख्रापालक कृषक एवं विभिन्न बाख्रापालक कृषक समुहहरूमा वोका वितरण गर्नुपर्दा सम्बन्धित जिल्ला पशु सेवा कार्यालयको सिफारिश लिई प्राथमिकताक्रम (First come first service) अनुसार वितरण गर्ने कार्यको शुरुवात गरिएको छ । वितरीत वोकाहरूको सदुपयोग भए नभएको र तिनिहरूको Performance समेत अध्ययन गर्ने अभिप्रायले वितरीत वोकाहरूको अनुगमन फलोअपको कार्य समेत शुरुवात गरिएको छ ।

अन्य क्रियाकलाप

यस फार्ममा बाख्रापालन व्यवसायमा लागेका व्यवसायिक कृषक, बाख्रापालक कृषक समुहका सदस्यहरू, विषयगत विद्यार्थीहरू देखि अन्य आगन्तुकहरू समेत अध्ययन भ्रमण गर्न आउने गर्दछन् । यसरी अध्ययन भ्रमणमा आउने आगन्तुकहरूलाई यस फार्मको ऐतिहासिक विवरण देखि बाख्रापालनमा फार्मले अंगिकार गरी आएका व्यवस्थापकीय पक्षहरू एवं बाख्रापालनका प्रविधिहरूका वारेमा जानकारी गराउने गरिएको छ ।

यो फार्म व्यवसायिक एवं व्यवहारिक बाख्रापालन तालिम उपलब्ध गराउन उपयुक्त स्थान भएकोले पशु सेवा विभाग मातहतका विभिन्न निकायहरूबाट यहाँ कृषक स्तरीय बाख्रापालन तालिम सञ्चालन गर्ने गरिन्छ । यसरी सञ्चालन हुने तालिमका प्रशिक्षार्थीहरूलाई खाने बस्ने प्रबन्ध फार्ममा मिलाइएको छ भने यस्ता तालिमहरूमा यस फार्ममा कार्यरत प्राविधिकहरूबाट प्रशिक्षण सेवा समेत प्रदान गर्ने गरिएको छ । हाल फार्ममा १७ जना प्रशिक्षार्थी राख्न सक्ने आवासीय सुविधा रहेको छ ।

Website Views: